- Published Date : September 5, 2024
पृष्ठभूमि
नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले देशैभरिका पत्रकारहरुबाट “प्राकृतिक स्रोत व्यवस्थापन र हरित वृद्धि” मा आधारित स्टोरी पिचहरूको आवेदन माग गरेको छ । यस आवेदन मार्फत नेपालका हरेक प्रदेशका ६ जना पत्रकारलाई समाचार लेखन वृद्धि प्रदान गर्नुका साथै, सफल आवेदकहरुले वरिष्ठ पत्रकार वा विषयविज्ञबाट मार्गदर्शनको अवसर प्राप्त गर्नेछन् । यो स्टोरी पिचहरूको लागि आवेदन इन्टरन्युज अर्थ जर्नलिज्म नेटवर्क (EJN) को सहकार्य र युरोपियन युनियन (EU) को आर्थिक सहयाेगमा “समावेशी हरित वृद्धिको लागि मिडिया” परियोजना अन्तर्गत गरिएको हो ।
निम्नलिखित खण्डहरुमा यो आवेदन सम्बन्धित महत्वपूर्ण जानकारीहरु (योग्यता र आवेदन प्रक्रियाको बारेमा) रहेका छन्, तसर्थ कृपया ध्यानपूर्वक अध्यान गर्नुहोस् ।
सारांश
सन् २०१५ मा नेपालले नयाँ संविधान जारि गर्यो । जसले आफ्नो शासन प्रणालीलाई एकात्मकबाट सङ्घीय लोकतान्त्रिक प्रणालीबाट संघीय, प्रादेशिक र स्थानीय सरकारहरूसहित तीन तहको संरचनामा परिवर्तन गर्यो । देशमा संघीयताले राजनीतिक र प्रशासनिक रुपमा पूर्णता पाउदैगर्दा, संघीयताको अर्को आयाम “वित्तीय संघीयता” को पाटोमा भने काम अझै विकास हुने क्रममा छ । यस क्रममा जलविद्युत् विकास, वन व्यवस्थापन, प्राकृतिक स्रोतको बाँडफाँडलगायत थुप्रै कानून र नियमावली संशोधन भएका छन् । केही अझै बन्ने क्रममा छन् । स्थानीय तहले आफ्नो वित्त व्यवस्थापन र आफ्नो मातहतमा रहेका प्रकृतिक स्रोतको दिगो उपयोग र त्यसबाट प्राप्त हुने रोयल्टी प्रकृतिक श्रोतको संरक्षण र दिगो विकाशमा प्रयोग गर्न सके देशले आत्मसाथ गरेको हरित वृद्धिका उदेश्य प्राप्तिमा टेवा पुग्ने छ ।
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (यूएनएफसीसीसी) को दोस्रो राष्ट्रिय सञ्चार (एनसी२) मा उल्लेख गरिएअनुसार यी क्षेत्रहरू विशेष गरी जलवायु प्रभावको जोखिममा छन् । वास्तवमा सन् २०५० सम्ममा जलवायु परिवर्तनका कारण देशले वार्षिक कुल गार्हस्थ्य उत्पादनको २.२ प्रतिशत गुमाउन सक्ने अध्ययनले देखाएको छ । यी जोखिमहरूविच, प्रभावकारी प्राकृतिक स्रोत व्यवस्थापन, ग्रीन ग्रोथ (हरित वृद्धि) र जलवायु उत्थानशिलताजस्ता विषय थप महत्वपूर्ण बन्दैछन् । यसका लागि संघ, प्रदेश र स्थानीय सरकारले नदी, जंगलजस्ता प्राकृतिक स्रोतको दिगो उपयोग गर्न र त्यसबाट प्राप्त हुने राजस्वलाई समान रूपमा बाँडफाँड गर्न मिलेर काम गर्न आवश्यक छ ।
शासकीय संरचनामा भएको परिवर्तनले स्थानीय सरकारलाई थप वित्तीय अधिकार प्रदान गरेको छ; विकेन्द्रीकृत निर्णय गर्ने र व्यवस्थापनका लागि अवसर प्रदान गरेको छ । तर कार्यान्वयनका चुनौतीहरू धेरै छन् । यस्तो अवस्थामा नेपालका सञ्चार माध्यमले देशको प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धि समाचार प्रकाशन-प्रशारनलाई अझ फराकिलो बनाउनु जरुरी छ, जसले गर्दा जनचेतना जगाउन र यी विषयमा अझ राम्रो नीतिगत कदम चाल्न सकियोस् । यस आवश्यकतालाई पूरा गर्न इन्टरन्यूजको अर्थ् जर्नालिजम् नेटवर्क (इजेएन) र नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले युरोपीयन युनियन को आर्थिक सहयोगमा प्राकृतिक स्रोत व्यवस्थापन र हरित वृद्धिसम्बन्धी नेपालका हरेक प्रदेशका ६ जना पत्रकारलाई समाचार लेखन वृद्धि अनुदान प्रदान गर्ने भएको छ ।
मिडिया फर इन्क्लुसिभ ग्रीन ग्रोथ इन नेपाल (एमआईजीजी) परियोजना अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा यो फेलोशीप प्रदान गर्न लागिएको हो ।
फेलोसिपका विषयवस्तु र उद्देश्यहरू
यी फेलोसिपको उद्देश्य हरित वृद्धि र प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी प्रमाणमा आधारित समाधानमुखी संचार सामग्रीहरुको उत्पादन गर्नु हो, जसले प्रकृतिक स्रोत व्यस्थापन सम्बन्धि नीति निर्माण र अनुगमनमा योगदान पुर्याउने छ । यो अनुदान मार्फत प्रकाशित समाचारहरुले प्राकृतिक स्रोत व्यवस्थापन र जलवायु परिवर्तनप्रतिको सार्वजनिक बुझाइ प्रदान गर्दछ र हरित वृद्धि नीतिहरूलाई सूचित गर्दछ – जसले पछाडि पारिएका जनसङ्ख्याको आवश्यकताहरू र प्राथमिकताहरूलाई ध्यानमा राख्छ । साथै, समुदाय र नीति निर्माताहरूलाई हरित वृद्धि र प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी जानकारी, सचेतना, वेथिति र खबरदारी गर्ने नवीन र समाधानमुखी खोजमूलक समाचारहरुको प्रकाशन गर्ने । छानिएका पत्रकारले परियोजना अवधिमा एउटा खोजमूलक समाचार तयार पारी प्रकाशन गर्नुपर्नेछ ।
खोजमुलक समाचारले निम्न प्रकारका जानकारी प्रदान गर्दछ (तर केवल यि विषयमा मात्र सिमित हुनुपर्छ भन्ने छैन):
- कमजोर प्रशासन र अक्षम बजेट वितरणको प्राकृतिक स्रोतहरूमा प्रभाव; देशको हरित वृद्धिमा बाधा पु¥याउने अनियमित अभ्यासहरूको पहिचान गर्ने ।
- नदीपारिस्थितिक प्रणाली र जलीय जैविक विविधतामा जलविद्युत परियोजनाहरूको प्रभाव, पर्वतीय पारिस्थितिक प्रणालीमा पूर्वाधार विकासको प्रभाव, आदि ।
- नेपालको प्राकृतिक स्रोतसाधनलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सरकारी रणनीति, नीति र सम्भावित मापनयोग्य/विस्तारयोग्य समाधानहरू ।
- अयोजित विकास मोडेलले पारिस्थितिकी तन्त्र र स्थानीय समुदायहरूमा पारेको प्रभाव मुख्यतः विपद्हरू विरुद्धको सहनशीलता र स्थानीय समुदायहरूको असुरक्षता ।
- आदिवासी र स्थानीय सामुदायिक अभ्यासहरूको प्रयासहरू जसले हरित वृद्धिलाई बढावा दिन्छ र जलवायु उत्थानशीलतालाई समर्थन गर्दछ ।
हामी विशेष गरी सीमान्तकृत र पछाडि पारिएका समूह, महिला र अल्पसङ्ख्यक समुदायको आवाज र दृष्टिकोणलाई बढाउने, रचनात्मक संवादका लागि ठाउँ सृजना गर्ने र समुदायहरूलाई अझ राम्रो तरिकाले सूचित गर्ने संचार सामाग्री उत्पादनहरूलाई समर्थन गर्न उत्सुक छौं । हामी पत्रकारहरुलाई लैंगिक संवेदनशीलता र समावेशी दृष्टिकोणबाट प्राकृतिक स्रोत व्यवस्थापनबारे रिपोर्ट गर्न प्रोत्साहन गर्दछौं । त्यस्ता सामाग्रीहरूले सार्वजनिक खबरदारी र जनदवाब दिदै नीति निर्माताहरूलाई ठोस कदम चाल्न सहयेग गर्नेछ ।
फेलोसिप र सामाग्री
प्रतिस्पर्धाबाट छानिएका प्रत्येक प्रदेशबाट ६ जना पत्रकारलाइ फेलोशीप प्रदान गरिनेछ । छनोट भएका पत्रकारले परियोजना अवधिभर आफ्नो क्षमता अभिवृद्धि गर्न वरिष्ठ पत्रकार वा विषयविज्ञबाट थप सहयोग प्राप्त गर्नेछन् । यो प्रस्ताव आह्वानको नतिजा, सफल आवेदकहरूलाई अक्टोवर २०२४ मा सूचित गरिनेछ । फेलोशीप समाचार सामग्री सम्झौता भएको ६ महिनाभित्र तयार पारी प्रकाशन गर्नु पर्नेछ । आवेदक पत्रकारले आफ्नो कार्य योजना विकास गर्दा यस समयसीमालाई विचार गर्नुपर्नेछ ।
कृपया ध्यान दिनुहोस् कि इन्टरन्यूज अर्थ जर्नालिजम् नेटवर्क (ईजेएन), नेपाल वातावरण पत्रकार समूह (नेफेज) र यसका साझेदार लगायत सहयोग गर्ने दातालाई ती सामग्रीहरू प्रकाशन, प्रसारण र पुन:वितरण गर्ने अधिकार प्रदान गरिनेछ ।
ईजेएन समर्थनको स्वीकृति:
प्रकाशित कार्यले यो ट्यागलाइन समावेश गरेर ईजेएन समर्थन प्रकट गर्नुपर्दछ: “प्रकाशित सामग्री इन्टरन्यूज अर्थ जर्नालिजम् नेटवर्क र नेपाल वातावरण पत्रकार समुहको सहयोगमा उत्पादन गरिएको हो ।“
योग्यता
- नेपालमा कार्यरत नेपाली पत्रकार, कुनै संचार-माध्यममा आवद्ध वा स्वतन्त्र पत्रकारले पनि आवेदन दिन पाउनेछन् ।
- सम्पूर्ण आवेदकहरुले यस फेलोशिपको परिणामस्वरूप उत्पादित कुनै पनि कथा प्रकाशित वा प्रसारित हुने प्रतिबद्धता समावेश रहेको समर्थन पत्र प्रदान गर्नुपर्नेछ । [कृपया आवेदन भर्नु पूर्व तपाईको सम्पादक, निर्माता वा सुपरिवेक्षकबाट हस्ताक्षरित समर्थनको पत्र तयार गर्नुहोस् ।]
- एक संचारकर्मीले एउटामात्रै प्रस्ताव अवेदन दिन पाउनेछ ।
यो प्रस्ताव आवेदन प्रयोजनका लागि हामीले अङ्ग्रेजी र नेपाली भाषामा मात्र आवेदन स्वीकार गर्नेछौं ।
आवेदकहरूले आफ्नो प्रस्तावहरूको विकासमा कुनै जेनेरेटिभ एआई उपकरणहरूको प्रयोग भएको छ भने, त्यसको बारेमा पारदर्शी हुन आवश्यक छ । यदि कुनै आवेदकहरू अनैतिक वा अनुचित व्यावसायिक आचरणमा संलग्न भएको पाइएमा, जस्तै साहित्यिक चोरी र एआई-उत्पन्न सामग्रीलाई आफ्नै सामाग्रीको रूपमा प्रस्तुत गरेको पाइएमा वा अन्य बौद्धिक सामाग्रीको चोरी गरेको पाइएमा, त्यस्ता आवेदकहरूलाई सम्झौता रद्द गर्न वा अयोग्य बनाउन सकिनेछ ।
मूल्यांकन मापदण्डहरु
हामीले प्राप्त गर्ने सबै आवेदनहरू विशेषज्ञ र पत्रकारहरूको एक स्वतन्त्र प्यानलद्वारा समीक्षा र छलफल गरिनेछ, जसमा नेफेज र इन्टरन्यूज ईजेएनका वातावरण पत्रकार/विज्ञ समेत समावेश हुनेछन् ।
आवेदनहरू निम्न मूल्यांकन मापदण्डहरू प्रयोग गरेर मूल्यांकन गरिनेछ:
- प्रस्तावको समग्र गुणस्तर;
- यस फेलोशीप कार्यक्रमको उद्देश्य र प्राथमिकताहरूमा योगदान गर्न प्रस्तावित पिचको सान्दर्भिकता;
- प्रस्तावित समाचार सामग्रीको गुणस्तर र सम्भावित प्रभाव र प्रभावकारिता;
- प्रस्तावित फेलोशीप समाचारका नवीन विशेषताहरू;
- प्रस्तावित फेलोशीपको वित्तीय व्यवहारिकता र लागत-प्रभावकारिता;
- प्रस्तावित फेलोशीप सम्पन्न गर्न आवेदकको क्षमता ।
आवेदन दिने प्रक्रिया:
कृपया यसै पृष्ठको अन्तिममा रहेको “आवेदन दिनुहोस् (Apply Now)” बटन क्लिक गरेर अनलाइन आवेदन फारम भर्नुहोस् ।
आवेदन फारम भर्दा तपाईले प्राकृतिक स्रोत व्यवस्थापन वा वातावरणीय विषयहरूमा हाल-सालै लेखेका दुई नमूना पेस गर्नुपर्ने हुन्छ र यो रिपोर्टिङ फैलोशिपको परिणामस्वरूप उत्पादन गरिएका कथाहरूलाई प्रकाशित वा प्रसारण गर्ने स्पष्ट प्रतिबद्धता सहितको तपाईको सम्पादक, वा सुपरिवेक्षकबाट समर्थन पत्र र व्यक्तिगत विवरण(CV) प्रदान गर्नुपर्ने हुन्छ । तसर्थ, यी कागजातहरु तयार गरेर मात्र आवेदन फारम भर्नुहोस् ।
यदि तपाईलाई आफ्नो आवेदन पेश गर्न कठिनाइ भएमा, कृपया [email protected] मा इमेल गर्नसक्नुहुनेछ । म्याद सकिए पश्चात पेश गरिएका आवेदनहरू मान्य हुने छैन ।
नोट: जब तपाईंले आफ्नो गुगल खातामा गुगल फारम भर्नुहुन्छ, तपाईंको प्रगति स्वचालित रूपमा ३० दिनको लागि मस्यौदाको रूपमा सुरक्षित हुन्छ। यसको मतलब यदि तपाईंले फारम पूरा गर्न सक्नुभएन वा भिन्दै यन्त्र स्विच गर्न आवश्यक परेमा, तपाईंले अर्को पटक फारम खोल्दा पहिले देखि नै सुरु गर्नुपर्दैन। यदि तपाईं अफलाइन हुनुहुन्छ भने, स्वत: रूपमा भरेको फारम सुरक्षित हुदैन ।